केही दिनमै टिकटक चल्ने


Janakpur Post     २०८१ भाद्र ८, शनिबार १३:५२ मा प्रकासित



काठमाण्डौ, ८ भाद्र ।

केही दिनमै नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने छ । यसका लागि टिकटकका प्रतिनिधिले आन्तरिक गृहकार्य थालिसकेका छन् ।

आइतबार नै सबै काम सकिएमा बेलुकादेखि नै चल्नसक्ने सम्भावना समेत रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारले बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकबाट टिकटकमाथिको प्रतिबन्ध नीतिगतरुपमा फुकुवा गरेको थियो ।
टिकटकका प्रतिनिधिले हिजो शुक्रबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसंग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।

सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ मान्न टिकटक तयार भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बताए ।

सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्न र सूचीकृत भएको सामाजिक सञ्जालको उपदफा ६ अनुसार सम्पर्कविन्दु केही दिनमै तोकिने टिकटकले मन्त्रीलाई जानकारी दिए ।

उनले भने, ‘सरकारको निर्णयबाट हामी खुसी छौँ, अब यसको कार्यान्वयन तत्काल गराउँछौँ,’ मन्त्री गुरुङसँग टिकटकका प्रतिनिधिले भने, ‘ढिलोमा मंगबारसम्म नभए पर्सि आइतबार (भदौ ९) गते बेलुकासम्म सरकारका सबै सर्त कार्यान्वयन गराइसक्छौँ ।’

सर्तानुसार पर्यटन प्रबद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र नेपाली भाषा र मातृभाषाको प्रयोग नियमन गर्ने अर्थात् जे कारणले टिकटक बन्द गरियो भन्ने भएको छ, त्यो हुन नसक्नेगरी भाषा मिलाउनुपर्ने सरकारको सर्त पालना गर्न तयार रहेको टिकटकले जनाएको छ ।
सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटक बन्द गराएको थियो ।

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धन नेतृत्व सरकार बने लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक प्रतिबन्ध हटाउने गृहकार्य अघि बढाउन सञ्चार मन्त्री गुरुङलाई निर्देशन दिए ।

मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै टिकटक खुलाउने भनिए पनि कानुनी प्रावधानलाई पालना गराउन तयार भएपछि मात्र सबै इन्टरनेट प्रदायक कम्पनीमा चल्न दिने निष्कर्षमा सरकार पुगेको सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बताए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया




Top